news
कतारमा तीन संस्थाको संयुक्त आयोजनामा शुभकामना आदान–प्रदान तथा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न
Share:

दोहा, कतार। दलित एकता सञ्जाल नेपाल, कतार शाखा, विश्वकर्मा समाज कतार र परियार मित्रता समाज कतारको सांस्कृतिक विभागको संयुक्त आयोजनामा विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कतारको एसियन टाउनस्थित लालिगुराँस रेस्टुरेन्टको सभा हलमा यहि मिति २०२६ नोबेम्बेर १३ शुक्रबारका दिन आयोजित उक्त कार्यक्रम दलित एकता सञ्जाल नेपाल, कतार शाखाका अध्यक्ष प्रकाश विश्वकर्माको अध्यक्षतामा तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा विश्वकर्मा समाज कतारका अध्यक्ष तथा कार्यक्रम संयोजक दीपक विश्वकर्माले स्वागत मन्तव्य राख्दै उपस्थित अतिथि, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सहभागीहरूलाई स्वागत गरेका थिए।
नेपाली मौलिक कला, संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदानका साथै देउसी–भैलो लगायतका विविध सांस्कृतिक प्रस्तुति राखिएको थियो।
कार्यक्रमबारे जानकारी दिँदै दलित एकता सञ्जाल नेपाल, कतार शाखाका महासचिव अमृत विश्वकर्माले नेपाली मौलिक संस्कृति झल्काउने प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक, मनोरञ्जनात्मक र स्मरणीय बनाएको बताए।
सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरू रेश्मि सेन्चुरी देव बिश्वकर्मा , नयन शर्मा, सुरेश बिसी गीत–संगीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। त्यसैगरी पुकार थापा, गंगा बिसी, जमुना बिसी, जमुना रसाइली तथा अनिता परियारलगायतका कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। सांस्कृतिक कार्यक्रमको सञ्चालन बाबु कौसलले गरेका थिए भने औपचारिक कार्यक्रमको सहजीकरण सञ्जालका महासचिव अमृत विश्वकर्माले गरेका थिए।
कार्यक्रममा दोहास्थित विभिन्न जातीय, राजनीतिक तथा प्रदेशस्तरीय संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, व्यवसायी, पत्रकार तथा दलित र गैरदलित समुदायका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले चाडपर्वले नेपालीहरूबीच आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।
प्रमुख अतिथि एनआरएनए कतारका अध्यक्ष कृष्ण पन्थीले तीनवटा संस्थाले एकै ठाउँमा मिलेर संयुक्त रूपमा कार्यक्रम आयोजना गरेकोमा प्रशंसा व्यक्त गरे। उनले संयुक्त आयोजनाले संस्थाहरूलाई पर्ने आर्थिक भार कम गर्नुका साथै आपसी भाइचारा र सहकार्य अभिवृद्धि गर्ने तथा समयको समेत बचत हुने बताए। आगामी दिनमा अन्य संघ–संस्थाहरूले पनि यस किसिमको सहकार्य र एकताको अभ्यासबाट सिक्नुपर्ने धारणा राख्दै उनले कार्यक्रमबाट आफू निकै प्रभावित भएको उल्लेख गरे।
कार्यक्रमको संयोजन विश्वकर्मा समाज कतारका अध्यक्ष दीपक विश्वकर्मा र परियार मित्रता समाज कतारका महासचिव प्रताप चाहरले गरेका थिए।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष प्रकाश विश्वकर्माले उपस्थित सम्पूर्ण अतिथि, कलाकार, सहयोगी तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमले कतारमा रहेका नेपाली समुदायबीच आपसी एकता, सामाजिक सद्भाव, सांस्कृतिक पहिचान र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे। साथै उनले धन्यवादसहित कार्यक्रम समापन भएको घोषणा गरेका थिए।
Share:


