news
कास्की आदर्श समाजको पाँचौँ महाधिवेशन : अध्यक्षमा शिव बानियाँ र महासचिवमा अग्निधर देवकोटाको एकल उम्मेदवारी
Share:

कास्की आदर्श समाजको पाँचौँ महाधिवेशन : अध्यक्षमा शिव बानियाँ र महासचिवमा अग्निधर देवकोटाको एकल उम्मेदवारी
दोहा । कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्को पाँचौँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अध्यक्षमा शिव बानियाँ र महासचिवमा अग्निधर देवकोटाको एकल उम्मेदवारी परेको छ। आगामी शनिबार (कार्तिक १४ गते) पोखरामा आयोजना हुने परिषद्को वार्षिक साधारण सभा एवं पाँचौँ महाधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।
नयाँ नेतृत्व सकेसम्म सहमति र सहकार्यका आधारमा चयन गर्ने उद्देश्यसहित गरिएको प्रयासले अधिकांश पदमा सकारात्मक परिणाम दिएको देखिएको छ। निर्वाचन समितिका संयोजक विमल सुवेदीका अनुसार निर्धारित कार्यतालिकाअनुसार अध्यक्षसहित विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ। उपाध्यक्ष पदमा आवश्यकताभन्दा बढी उम्मेदवारी परेपछि सन्तोष तिमिल्सिना र दीपक थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएर सहमतिको वातावरण निर्माणमा योगदान दिएका छन्। उनीहरूको उम्मेदवारी फिर्तासँगै इन्द्रकमल राजभाट, प्रवीण गिरी र अमर सापकोटा सर्वसम्मत रूपमा चयन हुने देखिएको छ। यद्यपि, निर्वाचन समितिले सम्पूर्ण प्रक्रिया पूरा भएपछि मात्रै निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ।
निर्वाचन समितिका अनुसार परिषद्को अध्यक्षमा शिव बानियाँको एकल उम्मेदवारी परेको छ। पोखरा महानगरपालिका–१८, सराङकोटका स्थायी बासिन्दा बानियाँ विगत करिब डेढ दशकदेखि अमेरिकामा बस्दै आएका छन्। यसअघि पनि परिषद्को अध्यक्षको जिम्मेवारी सम्हालिसकेका बानियाँको नेतृत्वकालमा दुबईमा कास्की आदर्श समाजको विश्व सम्मेलनसमेत सफलतापूर्वक सम्पन्न भएको थियो।
उनकै नेतृत्वमा विश्वका विभिन्न मुलुकमा छरिएर रहेका कास्कीवासीलाई एउटै संस्थागत सञ्जालमा जोड्ने अभियानले गति लिएको छ। हाल परिषद्मा २१ मुलुकका २२ वटा राष्ट्रिय समिति आबद्ध भइसकेका छन् भने थप ६ मुलुकमा राष्ट्रिय समिति गठन गरी परिषद्मा आबद्ध गराउने प्रक्रिया अघि बढिरहेको जनाइएको छ। यसका अतिरिक्त संस्थाले कास्की जिल्लाको सामाजिक तथा शैक्षिक विकास, प्राकृतिक विपत्तिमा परेकाहरूको राहत तथा उद्धार र विपन्न एवं असहाय व्यक्तिहरूको सहयोगका क्षेत्रमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ।
त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा विकास शाही र महिला उपाध्यक्षमा पूजा शाह ठकुरीको एकल उम्मेदवारी परेको छ। शाही यसअघि परिषद्को उपाध्यक्ष तथा ठकुरी सचिवको जिम्मेवारीमा रहेर संस्थामा योगदान दिइसकेका छन्।
महासचिव पदमा अग्निधर देवकोटाको एकल उम्मेदवारी परेको छ। कास्कीको अन्नपुर्ण -६ लुम्ले निवासी देवकोटा हाल रोजगारीको सिलसिलामा बिगत् २ दशक देखि कतारमा कार्यरत छन्। उनले यसअघि दुई कार्यकाल कास्की आदर्श समाज, कतारको अध्यक्षका रूपमा नेतृत्व सम्हालिसकेका छन्। कतारमा रहँदा संस्थागत गतिविधि, सामाजिक अभियान तथा संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गरेका देवकोटाको उम्मेदवारीलाई पनि महाधिवेशनको चासोका रूपमा हेरिएको छ।
यसैगरी, उपमहासचिवमा राजेन्द्र गौतम, सचिवमा नवीन पौडेल र रमेश खत्री, महिला सचिवमा कान्ति तिमिल्सिना अधिकारी, कोषाध्यक्षमा विश्वबन्धु थापा, सहकोषाध्यक्षमा तीर्थराज भण्डारी तथा महिला संयोजकमा बिन्दु गौतमको एकल उम्मेदवारी परेको छ।
उम्मेदवारी दिएका अधिकांश व्यक्तित्वहरू यसअघि पनि संस्थाका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका अनुभवी व्यक्तिहरू हुन्। रमेश खत्री यसअघि समितिको प्रवक्ता, नवीन पौडेल मध्यपूर्व क्षेत्रीय संयोजक, कान्ति तिमिल्सिना महिला संयोजक, विश्वबन्धु थापा कास्की आदर्श समाज नेपाल च्याप्टरका अध्यक्ष तथा तीर्थराज भण्डारी कास्की आदर्श समाज बहराइनका अध्यक्षको जिम्मेवारीमा रहेर योगदान दिइसकेका छन्।
क्षेत्रीय संयोजकतर्फ अमेरिका क्षेत्रीय संयोजकमा डम्बरजंग गुरुङ र मध्यपूर्व क्षेत्रीय संयोजकमा प्रकाश विश्वकर्माको उम्मेदवारी परेको छ। अन्य क्षेत्रीय संयोजक, युवा संयोजक, महिला उपसंयोजक तथा युवा उपसंयोजक पदमा भने निर्धारित समयभित्र कुनै उम्मेदवारी परेको छैन।
पोखरा महानगरपालिका–१६ स्थित ढिकीडाँडा रिसोर्टमा आयोजना हुने पाँचौँ महाधिवेशनमा विश्वका विभिन्न मुलुकमा रहेका राष्ट्रिय समितिबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूको भौतिक तथा डिजिटल सहभागितामा महाधिवेशनका प्रक्रिया सञ्चालन गरिनेछ।
महाधिवेशनअन्तर्गत हुने वार्षिक साधारण सभामा संस्थाको वार्षिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै आगामी कार्यकालका लागि आवश्यक नीति, योजना तथा कार्यक्रममाथि छलफल गरी निर्णय गरिनेछ।
विश्वका विभिन्न मुलुकमा छरिएर रहेका कास्केलीहरूलाई एउटै साझा संस्थागत अभियानमा जोड्दै सामाजिक एकता, सहकार्य र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्य बोकेको यस महाधिवेशनले संस्थाको भावी नेतृत्वसँगै संगठनको थप विस्तार र सुदृढीकरणमा महत्वपूर्ण दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ।
Share:


