news
कास्की आदर्श समाज, कतारद्वारा पोखरामा बृहत् रक्तदान तथा विद्यार्थी सम्मान समारोह आयोजना हुँदै
Share:

कास्की आदर्श समाज, कतारद्वारा पोखरामा बृहत् रक्तदान तथा विद्यार्थी सम्मान समारोह आयोजना हुँदै
दोहा , । कास्की आदर्श समाज, कतारले नेपालीहरूको महान् पर्व बडादशैँ तथा शुभ दीपावलीको अवसर पारेर बृहत् रक्तदान कार्यक्रम–२०८३ तथा विद्यार्थी सम्मान समारोह आयोजना गर्ने भएको छ। समाजले आफ्नो सामाजिक उत्तरदायित्व, मानवीय सेवा तथा शैक्षिक प्रोत्साहन अभियानलाई निरन्तरता दिने उद्देश्यले आगामी २०८३ साल कार्तिक १३ गते शुक्रबार पोखराको मानवअधिकार चोक, चिप्लेढुङ्गामा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो। बिहान ८ बजेदेखि सुरु हुने कार्यक्रमको समन्वय कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् र कास्की आदर्श समाज, नेपालले गर्ने जनाइएको छ।
‘रक्तदान जीवनदान हो’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै आकस्मिक दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न स्वास्थ्य समस्याका कारण रगतको आवश्यकता पर्ने बिरामीलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको सस्थाका अध्यक्ष अमृत बिश्वकर्माले जानकारी दिए।
आफ्नै गृह जिल्ला कास्कीको पोखरामा समाजले दोस्रो पटक बृहत् रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो। यस अभियानले रगतको अभाव न्यूनीकरणमा सहयोग पुर्याउनुका साथै समाजमा रक्तदानप्रतिको सकारात्मक सोच, मानवीय संवेदना र सेवाभाव अभिवृद्धि गर्ने विश्वास आयोजकले लिएको छ। कार्यक्रम संयोजक तथा सस्थाका उपाध्यक्ष रामदास भुर्तेलले सम्पूर्ण योग्य रक्तदाता, समाजसेवी, बुद्धिजीवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, व्यवसायी, युवा तथा आम सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न आग्रह गरेका छन ।
रक्तदान कार्यक्रमसँगै समाजले शैक्षिक क्षेत्रमा योगदान पुर्याउने तथा विद्यार्थीलाई थप प्रोत्साहित गर्ने उद्देश्यले विद्यार्थी सम्मान समारोहसमेत आयोजना गर्ने भएको छ। समाजका आजीवन सदस्यहरूका छोराछोरीमध्ये वि.सं. २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन र सहभागी मध्ये उत्कृस्ट १ छात्र र १ छात्रा लाई नगद सहित सम्मान पत्र तथा प्रोत्साहन गरिने आयोजकले जनाएको छ।विद्यार्थीहरूको मेहनत, लगनशीलता र शैक्षिक यात्राको कदर गर्दै उनीहरूलाई आगामी दिनमा अझ उत्साहका साथ अघि बढ्न प्रेरित गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ। आयोजकले सम्बन्धित विद्यार्थी तथा उनीहरूका अभिभावकलाई कार्यक्रममा उपस्थित भई सम्मान ग्रहण गर्न अनुरोध गरेको छ।
कास्की आदर्श समाज, कतारले रक्तदान र विद्यार्थी सम्मानजस्ता सामाजिक तथा शैक्षिक गतिविधिमार्फत समाजमा मानवीय सेवा, आपसी सद्भाव र शिक्षाप्रतिको सम्मानलाई प्रवर्द्धन गर्न खोजेको जनाएको छ।
कार्यक्रमका संयोजक रामदास भुर्तेल (९७०४२६२१८८) तथा सह–संयोजक ऋषिराम विश्वकर्मा (९७०५९८२८३८) रहेका छन्। थप जानकारीका लागि आशबहादुर गुरुङ (९८२८८३२५३२), विश्वबन्धु थापा (९८५६०३०४०५), बाबुराम थापा (९८१००६८९६१) र विकास राज बराल (९८५६०५९५७८) लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
आयोजकले सम्पूर्ण समाजसेवी, रक्तदाता, सदस्य, शुभेच्छुक तथा आम जनसमुदायलाई कार्यक्रममा उपस्थित भई सहयोग गर्न आग्रह गर्दै ‘रक्तदान गरौँ, जीवन बचाऔँ र शिक्षालाई सम्मान गर्दै सेवामूलक समाज निर्माणमा हातेमालो गरौँ’ भन्ने सन्देश दिएको छ।
Share:


