news

कतारमा गुञ्जिनेछ चर्चित ‘लेकाली’ ब्यान्डको स्वर, दसैँ–तिहारसहित चार पर्वको उत्सव मनाउँदै गण्डकी प्रदेश समन्वय परिषद् कतार

Share:
कतारमा गुञ्जिनेछ चर्चित  ‘लेकाली’ ब्यान्डको स्वर, दसैँ–तिहारसहित चार पर्वको उत्सव मनाउँदै गण्डकी प्रदेश समन्वय परिषद् कतार
कतारमा गुञ्जिनेछ चर्चित ‘लेकाली’ ब्यान्डको स्वर, दसैँ–तिहारसहित चार पर्वको उत्सव मनाउँदै गण्डकी प्रदेश समन्वय परिषद् कतार दोहा, कतार। गण्डकी प्रदेश समन्वय परिषद्, कतारको आयोजना तथा प्रदेश अन्तर्गत जिल्ला सस्थाको सह- आयोजनामा नेपालीहरूको महान् चाड बडादसैँ, शुभ दीपावली (तिहार), नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। नेपाली कला, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रम आगामी २०२६ नोभेम्बर ६ तारिख शुक्रबार कतारको अल वुकैरस्थित DPS Monarch International School मा सञ्चालन हुनेछ। कार्यक्रम दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ। कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय चर्चित ‘लेकाली’ ब्यान्डको विशेष सांगीतिक प्रस्तुति रहनेछ। यसका साथै विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ। कतारमा स्थापित नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र एकतालाई थप मजबुत बनाउनुका साथै नेपाली कला, संस्कृति र परम्परालाई नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने उद्देश्य कार्यक्रमले लिएको छ। त्यसैगरी, गण्डकी प्रदेश समन्वय परिषद्, कतारको श्रमिक कल्याणकारी कोष स्थापनार्थ समेत कार्यक्रम आयोजना गर्न लागिएको हो। प्रवासमा रहेका नेपाली श्रमिकहरूको हित र कल्याणलाई लक्षित गरी अघि सारिएको यस अभियानलाई सफल बनाउन सम्पूर्ण नेपाली समुदायको साथ, सहयोग र सहभागिता महत्त्वपूर्ण रहने आयोजकको अपेक्षा छ। कार्यक्रमका संयोजक रोशन अर्यालका अनुसार कार्यक्रममा सहभागी हुन प्रवेश शुल्क ३० कतारी रियाल निर्धारण गरिएको छ। कार्यक्रमसम्बन्धी थप जानकारी लिन तथा सहभागिताका विषयमा बुझ्न गण्डकी प्रदेश समन्वय परिषद्, कतारका पदाधिकारी एवं गण्डकी प्रदेशअन्तर्गतका विभिन्न जिल्लास्तरीय संस्थाका अध्यक्षहरूसँग सम्पर्क गर्न सकिनेछ। आयोजकले कतारमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा संगीतप्रेमी महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाउन तथा श्रमिक कल्याणकारी कोष स्थापनाको अभियानमा सहयोग पुर्‍याउन हार्दिक निमन्त्रणा गरेको छ। नेपालीहरूको महान् चाडपर्वको अवसरमा आयोजना हुन लागेको यस कार्यक्रमले प्रवासमा नेपाली संस्कृति संरक्षण, सामाजिक एकता र श्रमिक कल्याणको अभियानलाई थप सशक्त बनाउने विश्वास लिइएको छ।
Share: