news
बाढीपीडितका लागि कास्की आदर्श समाज यूएईको २ लाख २१ हजार सहयोग
Share:

बाढीपीडितका लागि कास्की आदर्श समाज यूएईको २ लाख २१ हजार सहयोग
यूएई । भोटेकोसी–त्रिशूली बाढीबाट प्रभावित परिवारको सहयोगार्थ कास्की आदर्श समाज यूएईले २ लाख २१ हजार रुपैयाँ सहयोग गरेको छ।
भाद्र १० गते आएको बाढीबाट प्रभावित तथा पीडितका लागि समाजले संस्थागत सहभागिता जनाउँदै उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको अध्यक्ष शिवराज बस्ताकोटीले जानकारी दिए।
उनका अनुसार सहयोग रकममध्ये १ लाख ५५ हजार रुपैयाँ समाजको आपतकालीन कोषबाट तथा बाँकी रकम सदस्यहरूबाट संकलन गरिएको हो।
संकलित रकममध्ये कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्को ‘भोटेकोसी बाढीपीडित सहयोगार्थ अभियान’मा १ लाख १५ हजार ५ सय ५५ रुपैयाँ उपलब्ध गराइएको छ। त्यस्तै, नेपाली समाज यूएईले सञ्चालन गरेको उद्धार तथा राहत अभियानमार्फत संकलित २ हजार ६ सय यूएई दिराम नेपाली महावाणिज्य दूतावास, दुबईमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको समाजले जनाएको छ।
अध्यक्ष बस्ताकोटीले विपद्को समयमा मानवीय सेवाको भावनासहित सहयोग गरिएको बताए। उनले नेपालमा विपद् आइपर्दा विदेशमा रहेका नेपाली संघ–संस्था तथा नेपाली समुदाय एकजुट भएर राहत तथा उद्धारमा सहयोग गर्न आग्रहसमेत गरे।
Share:









