news

कास्की आदर्श समाज कतारको देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न, सहयोगी तथा शुभचिन्तकप्रति संस्थाद्वारा आभार व्यक्त

Share:
कास्की आदर्श समाज कतारको देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न, सहयोगी तथा शुभचिन्तकप्रति संस्थाद्वारा आभार व्यक्त
दोहा, कतार। कास्की आदर्श समाज कतारको आयोजना तथा फेवा सांस्कृतिक परिवार कतारको सहकार्यमा नेपाली कला, संस्कृति, परम्परा तथा मौलिकताको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले शुभ दीपावली (तिहार) को पावन अवसरमा आयोजित देउसी–भैलो सांस्कृतिक कार्यक्रम–२०८३ भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। दोहाको सनैया स्थित संसारा थकाली रेस्टुरेन्टको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा सामाजिक संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कलाकार, पत्रकार तथा कस्केली समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नेपाली मौलिक कला, संस्कृति र परम्परालाई प्रवासको भूमिमा जीवन्त राख्दै नेपालीहरूबीच आपसी एकता, सद्भाव, भाइचारा तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमलाई पूर्ण रूपमा देउसी–भैलो र नेपाली मौलिक संस्कृतिमा केन्द्रित गरिएको थियो। कार्यक्रमको अध्यक्षता कास्की आदर्श समाज कतारका अध्यक्ष श्री अमृत विश्वकर्माले गर्नुभएको थियो भने गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष श्री कृष्ण पन्थी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रम सञ्चालन संस्थाका सचिव श्री विष्णु तिमिल्सिना तथा कार्यक्रम संयोजक श्री नयन शर्माले गर्नुभएको थियो। संस्थाका प्रथम उपाध्यक्ष श्री कृष्ण भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथि श्री कृष्ण पन्थीले शुभकामना मन्तव्य राख्दै दोहामा क्रियाशील विभिन्न जिल्ला संस्थाहरूमध्ये कास्की आदर्श समाज कतारले आयोजना गर्ने कार्यक्रमहरू सधैँ कुनै न कुनै सकारात्मक सन्देश दिने र फरक पहिचान बोकेको हुने गरेको भन्दै खुसी व्यक्त गर्नुभयो। विशेषगरी यसपटकको कार्यक्रमलाई देउसी–भैलो र नेपाली मौलिक संस्कृतिमा केन्द्रित गरेर आयोजना गरिएकोमा उहाँले प्रशंसा गर्नुभयो। कार्यक्रममा संस्थाका संरक्षकहरू श्री विमल सुवेदी, श्री आसबहादुर गुरुङ, श्री मनप्रसाद रानामगर, श्री रेशम बस्नेत तथा श्री हेमबहादुर बी.क. (बिक्की) लगायतको उपस्थिति रहेको थियो। त्यसैगरी संस्थाका प्रमुख सल्लाहकार तथा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव श्री अग्निधर देवकोटा, अन्तर्राष्ट्रिय समन्वय परिषद्का मध्यपूर्व संयोजक श्री प्रकाश विश्वकर्मा, सल्लाहकार श्री सुरज रानाभाट तथा गण्डकी प्रदेश समन्वय परिषद् कतारका कार्यवाहक अध्यक्ष श्री कल्याण थापालगायत गण्डकी प्रदेश मातहतका जिल्ला तथा इकाई संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो। त्यसैगरी संस्थाका मानार्थ सदस्य श्री मोहम्मद अजिज अली, श्री महेश तामाङ, समाजसेवी श्री भेषराज पराजुली, श्री रमेश पौडेल, श्री तुलसीराम पाण्डेलगायत विभिन्न सामाजिक तथा अग्रज व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका अवसरमा संस्थाको दशौँ अधिवेशनमा उपस्थित हुन नसक्नुभएका संस्थाका तत्कालीन संरक्षक संयोजक श्री विमल सुवेदी तथा संस्थाका मानार्थ सदस्य श्री मोहम्मद अजिज अलीलाई संस्थाको तर्फबाट मायाको चिनो तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो। संस्थाप्रतिको उहाँहरूको योगदान र आत्मीय सम्बन्धको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ। कार्यक्रमलाई सांस्कृतिक रूपमा थप आकर्षक, मनोरञ्जनात्मक तथा मौलिक बनाउन फेवा सांस्कृतिक परिवारका संयोजक श्री नयन शर्माको संयोजनमा विविध नेपाली लोकगीत, लोकनृत्य, सांगीतिक प्रस्तुति तथा तिहार विशेष देउसी–भैलो प्रस्तुत गरिएको थियो। कार्यक्रममा चर्चित गायिका श्रीमती रेश्मी सेञ्चुरी, श्री रेशम बस्नेत, श्री महेश तामाङ, श्री देवी कँडेललगायतका कलाकारहरूको सांगीतिक प्रस्तुतिले उपस्थित दर्शक तथा अतिथिहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो। कार्यक्रम सफल बनाउन संस्थाका सम्पूर्ण कार्यसमिति पदाधिकारी, आजीवन सदस्य, शुभचिन्तक, कलाकार, स्वयंसेवक तथा कतारवासी कस्केली दाजुभाइ तथा दिदीबहिनीहरूको महत्त्वपूर्ण योगदान रहेको आयोजकले जनाएको छ। कार्यक्रमको अन्त्यमा सभापति तथा संस्थाका अध्यक्ष श्री अमृत विश्वकर्माले धन्यवाद तथा कृतज्ञता मन्तव्य राख्दै कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सद्भाव, माया र साथ प्रदान गर्ने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। विशेषगरी देउसी–भैलो कार्यक्रमका अवसरमा संस्थालाई माया, विश्वास र सद्भाव राखी स्वेच्छाले आर्थिक सहयोग प्रदान गर्नुहुने सम्पूर्ण सहयोगदाताहरूप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त सहयोग संस्थाको उद्देश्य र प्रतिबद्धताअनुरूप सामाजिक सेवाका कार्यहरूमा पारदर्शी ढङ्गले सदुपयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। संस्थाले सामाजिक एकता, आपसी सद्भाव, सहयोग र समाजसेवालाई आफ्नो मूल उद्देश्यका रूपमा आत्मसात् गर्दै आएको उल्लेख गर्दै यस कार्यक्रमबाट प्राप्त माया, विश्वास र सहयोगले आगामी दिनमा सामाजिक सेवाका कार्यहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन थप ऊर्जा र प्रेरणा मिलेको जनाएको छ। अन्त्यमा, कार्यक्रमलाई भव्य, सभ्य र सफल बनाउन आर्थिक, नैतिक, भौतिक तथा सांस्कृतिक रूपमा योगदान पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति कास्की आदर्श समाज कतारले पुनः हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेको छ। प्रवासमा नेपाली मौलिकता जोगाऔँ, कला, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गरौँ भन्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको थियो।
Share: